शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई कांग्रेस नेता कोइरालाको आग्रह
_ytvw5BHFqg_phg2cmbowzucjmlis16szv1ohjdgkgc25ljj5qsniiojjg0orkjfid8zrv7u_bqZvNawh3M_unocvu3dj5zgbhai5dyfw7jweum8ztadyolh7tieptl9dstowifpeaufic6i.jpg)
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न काममा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
‘सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् । यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणासमेत गरेका छन् । उनीहरुको हड्तालले विद्यार्थी भर्ना अभियान प्रभावित हुने सम्भावना छ ।
शिक्षकहरु एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने अडानमा रहेकाले नतिजा तयारीमा पनि ढिलाइ हुने चिन्ता छ । मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न आग्रह गरेको छ ।