बुधबार २७ चैत, २०८१

स्वास्थ्य बीमा कार्यक्रममा आधाभन्दा बढी बिमितले गरेनन् नवीकरण

स्वास्थ्य बीमा कार्यक्रममा आधाभन्दा बढी बिमितले गरेनन् नवीकरण

काठमाडौं– आर्थिक कठिनाइबिना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ ।

नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमको नवीकरण दर नै घट्दै गएको छ । नवौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका निर्देशक रघु काफ्ले भने, ‘बोर्डले एक पटक बीमा गरेपछि नवीकरण गर्ने वातावरण तयार पार्न समेत नसकेको देखिन्छ । छाड्ने दर उच्च हुनुको कारण पहिचान गरी त्यसको सम्बोधनमा ध्यान दिनु आवश्यक छ ।’

बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ फागुनसम्म भने आधा भन्दा बढी (५४) प्रतिशतले नवीकरण गरेका छैनन् ।

बीमितले समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउनु, बीमा गरेका र बीमा नगरेका बिरामीले पाउने सेवामा फरक हुनु, थप उपचारका लागि ठुला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ ।

स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

सेवा प्रदायकहरू सुगम र बढी जनसङ्ख्या भएको स्थानमा केन्द्रित रहेका छन् । बोर्डका निर्देशक काफ्ले भन्छन्, ‘अधिकांश सेवा प्रदायकहरू एकै ठाउँमा केन्द्रीकृत रहेका र दुर्गम स्थानमा मापदण्ड बमोजिमका प्रथम सेवा विन्दु पाउन समेत कठिन छ ।’

सेवा प्रदायक सबै ठाउँमा उपलब्ध हुने अवस्था सिर्जना गर्नका लागि तीन तहका सरकार र निजी क्षेत्रसँगको समन्वय तथा सहकार्य गर्नुपर्ने उनले बताए ।

औसत रूपमा योगदान र दाबीबीचको अन्तर २२० प्रतिशत देखिएको छ ।

‘यस्तो प्रकृतिको बीमा टिकाउन ८०–८५ प्रतिशत भन्दा बढी हुनु हुँदैन । मेडिकल घाटा अनुपातलाई घटाउँदै लगी सन्तुलनको अवस्थामा पुर्‍याउनका लागि थप प्रयास आवश्यक छ,’ काफ्ले भन्छन् ।

बोर्डका अनुसार ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भएको छ । हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भए । तर २०८१÷८२ को फाल्गुन मसान्तसम्ममा क्रियाशील बिमितको सङ्ख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ । जुन कुल जनसङ्ख्याको २० प्रतिशत मात्रै हो।

सामान्य क्रियाशील बिमित ४३ लाख २ हजार ७०९ र क्रियाशील लक्षित बिमित १४ लाख ५१ हजार १०८ छन् । काफ्ले भन्छन्, ‘क्रियाशील बिमितको सङ्ख्या विश्लेषण गर्दा अझ पनि बहुसङ्ख्यक अर्थात ८० प्रतिशत नागरिकलाई समेटन थप मेहनत गर्नुपर्ने देखिन्छ ।’

बोर्डको तथ्यांक अनुसार कोशी प्रदेशमा कुल जनसङ्ख्याको ३३ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ३४ प्रतिशत र लुम्बिनीमा १४ प्रतिशत रहेकोमा मधेश, कर्णाली र सुदूरपश्चिममा क्रमशः ७ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशत स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

‘मानवीय विकासका दृष्टिमा पछाडि परेका प्रदेशहरूको बीमामा संलग्नता न्यून हुनु चिन्ताको विषय हो’ निर्देशक काफ्ले भन्छन्, ‘सबैलाई स्वास्थ्य बीमामा समेट्ने र त्यसमा पनि पिछडिएको वर्ग, समुदाय र क्षेत्रलाई समेटन थप प्राथमिकता दिनुपर्छ ।’