मंगलबार ०१ पुस, २०८२

दोर्दी गाउँपालिका जोड्ने सडक निर्माण अन्तिम चरणमा

दोर्दी गाउँपालिका जोड्ने सडक निर्माण अन्तिम चरणमा

काठमाडौं । दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त सडकको २० प्रतिशत काम बाँकी छ।

गण्डकी प्रदेश सरकारको एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढेको उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ। दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नति कार्य पाँच वर्ष पुग्न लाग्दा ८० प्रतिशत हाराहारीमा छ।

पूर्वाधार कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भने, ‘कोरोना सङ्क्रमणलगायत कारण देखाउँदै ठेकेदारले निर्माण ढिला गर्यो, पछिल्लो समय सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त छ।’

पटकपटक म्याद थप्दा पनि तोकिएको समयमा काम नसकिँदा निर्माण ढिला भएको हो। नाला बनाउने र स्टक्चरको काम अधिकांश सम्पन्न भएको सिग्देलले बताए। उनका अनुसार कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ। प्रदेश सरकारको २६ करोड २९ लाख रुपैयाँ लगानीमा ७.१२१ किलोमिटर कालोपत्र हुन लागेको हो। यस वर्षमात्र ४ करोड १० लाख रुपैयाँ भुक्तानी भएको र हालसम्म २१ करोड रुपैयाँ भुक्तानी भएको सिग्देलको भनाइ छ। सम्झौताअनुसार २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडलगायत कारण ढिलाइ हुँदा निर्माण कम्पनीले २०७९ पुससम्म जिम्मेवारी पाएको थियो।

उक्त समयमा पनि निर्माण नसकिएपछि पुनः म्याद थप गरी २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। पुनः म्याद थप गर्दै २०८१ मङ्सिर २८ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। उक्त समयमा पनि निर्माण नसकिएकाले हालसम्म म्याद थप भएको छैन। सडक निर्माणका लागि कन्टेक निर्माण प्रालि काठमाडौँले २०७७ असार ३ गते सम्झौता गरेको थियो।

निर्माण ढिलाइका कारण पटकपटक म्याद थप भए पनि अब संसोधन भएर आएमा मात्र म्याद थप हुने, नत्र म्याद थप नहुने सिग्देलको भनाइ छ। बजेट अपुग भएर सम्बन्धित निकायमा बजेट सुनिश्चिताका लागि पठाइएको र तत्काल करिब २ करोड रुपैयाँ अपुग रहेको उनले बताए। सरकारले बजेट निकासा गर्न नसक्दा पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदीपुरबाट बेँसीसहर नगरपालिका–११ हुँदै दोर्दी गाउँपालिका–४ स्थित दोर्दी गाउँपालिका जोड्ने यो सडकको अस्फाल्ट कालोपत्र हुनेछ। सडकका दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर ढलान गरिनेछ। गाउँपालिका केन्द्र जोड्ने यो मुख्य सडकको निर्माण ढिलाइ हुँदा पालिकावासीले कष्टकर यात्रा गर्न बाध्य छन्। रासस