बुधबार ०२ पुस, २०८२

श्रीमतीको हत्या गर्न ४ लाख ‘सुपारी’ दिए, अन्तमा आफैं मारिए

श्रीमतीको हत्या गर्न ४ लाख ‘सुपारी’ दिए, अन्तमा आफैं मारिए

काठमाडौं। धादिङको गजुरी गाउँपालिका २ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेलको हत्या भएको छ। उनको गत वर्षको चैत २७ गते आफ्नै घरमा शव फेला परेको हो।

घाटीमा डोरी कसिएको अवस्थामा शव फेला परेका कँडेलले श्रीमतीको हत्या गर्न ४ लाख नगद सुपारी दिएका थिए। उनीसँग सुपारी लिएको समूहले नै उनको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका ९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान छन्। 

कँडेल र श्रीमती सुस्मिता सिलुवालबीच सम्बन्ध राम्रो नभएपछि उनले श्रीमतीको हत्या योजना बनाएका थिए। यसैबीच उनले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका हुन्। प्रजाले थिङ र मुक्तानलाई यो काममा सहभागी गराएका थिए।

उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास गरे। तर, उनीहरूको योजना सफल नभएपछि कँडेलले थिङलाई दबाब दिए। अन्तमा कँडेलले धेरै दबाब दिएपछि रिसाएका उनीहरूले उनकै हत्या गरिदिएका हुन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद भएको छ। त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख नगद, कँडेलले दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ।

उनीहरीमाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।