सोमबार २२ मंसिर, २०८२

संविधान कार्यान्वयनका कानून चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता : गगन थापा

संविधान कार्यान्वयनका कानून चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानुन चाँडोभन्दा चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताए ।

कानुनहरूलाई पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले शिक्षा विधेयक, प्रहरी विधेयकलगायतका संघीयता कार्यान्वयनसँग जोडिएका करिव ४० वटा विधेयकहरू पारित गर्नुपर्ने सरकारमाथि चुनौती रहेको जिकिर गरे ।

‘यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ । यही अनुसार पहलकदमी लिइएको छ,’ महामन्त्री थापाले भने, ‘संसद् र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ । शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा संघीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ ।’

सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरूलाई पूरा गर्न मद्दत पुग्ने तीस बढी कानुन पारित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संसद्को सक्रियता बढाउनुपर्ने उनले जिकिर गरे ।

‘अस्ति एक पटक सरकारका मन्त्रीज्यूहरूसँग बसेर तपाईँहरूले तत्काल काम गर्न आवश्यक ठान्नुभएको, जुन कामहरूले तपाईँहरूले लिएका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्छ, ती कानुनहरू कति वटा तुरुन्तै पारित गर्नुपर्दैन,’ महामन्त्री थापाले भने, ‘गर्दा कति वटा कानुनहरू हुन्छ भनेर छलफलमा बस्दा करिब करिब ३० वटा भन्दा बढी कानुनहरू आउने रैछन्,’ महामन्त्री थापाले भने, ‘यसलाई हामीले पास गर्नुपर्नेछ । हाम्रो संसद्को सक्रियता यति धेरै बढाउनुपर्नेछ ।’