हुम्ला हिमपहिरो : १ करोड २० लाख लगतमा बनेको जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको हिमपहिरोका कारण १ करोड २० लाख लगतमा बनेको लघु जलविद्युत् आयोजनामा क्षति भएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले लघु जलविद्युत् बगाउँदा उक्त क्षति भएको बताए ।
खानेपानीमा पनि क्षति पुगेको थियो । खानेपानी मर्मतका लागि खानेपानीको पाइप पुगिसकेको पनि उनले बताए । अब १ हजार ८ सय मिटर पाइप जान बाँकी रहेको उनको भनाइ छ । ओभरसियर अहिले तिलगाउँमै बसेर काम सुरु गरेको उनको भनाइ छ ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासहितको राहतको टोली घटनास्थल पुग्ने पनि उनले बताएका छन् ।
‘आज नै हाम्रो टोली त्यहाँ पुग्दैछ । त्यसमा स्ट्रक्चरल इन्जिनियर, जिओलोजिस्ट, हाइड्रोलोजिस्ट र विपद् विज्ञ गरी चार जना हुनेछन्’ उनले भने, ‘गाइड गरेअनुसार उनीहरूले त्यहाँको अवस्थाबारे अध्ययन गर्नेछन् ।’
हिमपहिरोका कारण त्यहाँबा बासिन्दाहरू अहिले स्कुल र पाल मुनि बसेको पनि उनले बताए ।
१ जेठको राति हिमपहिरो आएपछि तिलगाउँ अहिले पनि जोखिममा छ । समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँलाई हिमपहिरोले उजाड बनाइदिएको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।
हिमताल फुटेर लेदो सहितको बाढी आएपछि तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो ।
सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छेबुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ । १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनी जमिनमा सिँचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।
