सोमबार २२ मंसिर, २०८२

जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव

जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव

पञ्चपुरी (सुर्खेत) । खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको बताएका छन् ।

आज सुर्खेत शिवशक्ति धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गरे ।

‘यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ,’ मन्त्री यादवले भने ।

यसैगरी उनले नेपाली नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्ने सरकारको उद्देश्य र संकल्प साकार हुँदै गएको बताए ।

खानेपानीको समस्याका कारण आजित भएका नागरिकहरूलाई सुरक्षित खानेपानी वितरण सहित उनीहरूका समस्या समाधान हुँदै गएको जानकारी गराए ।

‘नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिई काम सम्पन्न गर्दै आएका छन्,’ उनले भने, ‘खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तीहरूमा धाइरहेको छु ।’

जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पुर्‍याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे ।