इलामका विकासे योजनाबारे चिन्ता गर्दै सुहाङले भने- प्रशासनिक दक्षतामात्रै सुशासन होइन
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा अलपत्र परेका विकासका योजनाहरू समयमै पूरा हुनेगरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेम्वाङले इलाम क्षेत्र नम्बर २ का योजनाहरू अलपत्र हुँदा विकासका सम्भावना पनि अधुरो रहेको बताए ।
सुशासन केवल प्रशासनिक दक्षताको मात्रै कुरा नभएको भन्दै राज्यले बनेका योजनाहरूलाई समयमै पारदर्शी रुपमा पूरा गर्ने उत्तरदायित्व पनि लिनुपर्ने जिकिर गरे ।
‘सुशासन केवल प्रशासनिक दक्षताको कुरा होइन । यससँगै नैतिक र इमानदारिता पनि गहिरो रुपमा जोडिएको विषय हो । हामीले योजना बनाउने मात्रै त्यसलाई समयमै पारदर्शी रुपमा पूरा गर्ने उत्तरदायित्व राज्यको हुन्छ,’ सांसद नेम्वाङले भनेका छन् ।
इलामका महत्त्वपूर्ण योजनाहरू जस्तै राजदुवाली, केचना कञ्चनजंगा, चुली, सिमलगेला तेलकुनी, राँके–गैह्रे, रवि–राँके भेडेटार, दमक चिसापानी, नेपालटार मंगलबारे गजुरमुखी मार्गसँगै दोभान सडके, पूवाखोला, ठाडेखोला पुलजस्ता अरु धेरै पूर्वाधारहरू समयमै पूरा हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
‘जब हामी शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रका समग्र विकासको कुरा गर्छौं, त्यहाँसम्म सहज पहुँचका लागि पनि यातायात पूर्वाधार अनिवार्य शर्त हो । बाटो र पुलबिन यी विकासका सम्भावना पनि अधुरै हुन्छन्,’ उनले भने, ‘त्यसकारण सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यी योजनाहरूले हालसम्म किन प्राथमिकता प्राप्त गर्न सकेन ? गहिरो समीक्षा होस् र यथाशिघ्र निर्माण कार्यलाई थालनी र तिव्रता दिइ समयसीमाभित्रै काम थालनी र पूरा होस् भनी आग्रह गर्न चाहन्छु ।’
