बुधबार २४ मंसिर, २०८२

शास्त्रीको निधनमा कांग्रेसको औपचारिक कार्यक्रम स्थगित, पार्टीको झण्डा तीन दिन आधा झुकाउने

शास्त्रीको निधनमा कांग्रेसको औपचारिक कार्यक्रम स्थगित, पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल)को निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ ।

बुधबार बिहान बसेको पार्टीको  केन्द्रीय कार्यसमितिको बैठकले बिहीबारसम्म आफ्ना सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को ९० वर्षको उमेरमा असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो ।

शास्त्रीको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो । 

कांग्रेसले आजदेखि ६ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।