विश्व बैंकले पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसिया क्षेत्रबाट हटायो
काठमाडौं। विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा लगेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि विश्व बैंकले आफ्नो अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट मध्यपूर्व तथा उत्तरी अफ्रिका क्षेत्रमा लगेको हो ।
यससँगै विश्वबैंकले उक्त क्षेत्रको नै परिवर्तन गरी ‘मध्यपूर्व, उत्तरी अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ राखेको छ । यी दुई मुलुकलाई किन दक्षिण एसियाबाट अलग गरेर यसअघिको मध्यपूर्व र उत्तरी अफ्रिका (मेना) क्षेत्रमा राखिएको भन्ने विषयमा विश्वबैंकले केही उल्लेख गरेका छैन ।
तर, केही जानकार स्रोतहरुलाई भारतको एचटी मिन्टले जनाएअनुसार पाकिस्तानलाई विश्वबैंकले दिने ऋण रोक्नुपर्ने भन्दै भारतले दबाब दिएपछि विश्वबंैंकले यी दुई मुलुकलाई भारतभन्दा अलग समूहमा राखेको हो ।
विश्वबैंकले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह तथा तथ्यांकको विश्लेषणलगायत कामका लागि विश्वका देशहरुलाई विभिन्न समूहमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास निगमलगायतले पनि देशहरुको यस्तै समूह बनाएर काम गर्ने गर्छन् । यस्ता समूहरुलाई उनीहरुले विशेषगरी आफ्नो संस्थागत कामको प्रयोजनका लागि मात्रै प्रयोग गर्छन् ।
यसअघि दक्षिण एसिया क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ देश थिए । अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।
विश्वबैंकले दक्षिण एसिया क्षेत्रको उपाध्यक्षका रुपमा जोहान्स जुटलाई नियुक्त गरेकोसम्बन्धी विज्ञप्तिमा दक्षिण एसियाली क्षेत्रका देशमा पाकिस्तान र अफगानिस्तानको नाम थिएन । अब भने उसले आफ्नो वेबसाइट अपडेट गरेर यी दुई मुलुकहरु मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकसँगै रहने गरी नयाँ क्षेत्र बनाएको उल्लेख गरेको हो ।
