अनुशासनहीन र अराजक गतिविधि गर्नेको प्रतिवाद गर्न महासचिव पोखरेलको निर्देशन
काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई बिहीबार च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
भेलामा महासचिव पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवस्थाबारे जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताए ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’
पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा नगर्न महासचिव पोखरेलले चेतावनी दिए ।
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको पनि बताए ।
एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको पोखरेलको भनाइ छ ।
‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने, ‘पश्चगामी साेंच भएका राजावादी र कम्युनिस्ट नामका माओवादी पनि एमालेलाई गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’ उनले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलको दाबी छ ।
महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टी भित्रै कित्ताकाट गर्ने काममा संलग्न भएको बताए । ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’ महासचिव पोखरेलले भेलामा सहभागीहरूलाई निर्देशन दिँदै भने, ‘जतिबेला जे काम पर्छ त्यहीँ गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् ।’
महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनका दस्ताबेज केन्द्रीय कार्यालयमा साता दिन भित्र पठाउन निर्देशन पनि दिए ।
‘जनसङ्गठनका दस्ताबेज र पार्टीले तयार गरेको दस्ताबेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौँ’ महासचिव पोखरेलले भने, ‘सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्ताबेज बनाएर कार्यान्वयन गर्नुहोस् ।’
पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवस्तु चितवन महाधिवेशनले संशोधन गरेको स्मरण गराउँदै पार्टीको निर्णयविरुद्ध नबोली नेता होइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
‘पार्टीका नीति,विधिमाथि तल बितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाई त्याग्नुहोस्’ ढकालले केही जनसङ्गठनका पदाधिकारीलाई लक्षित गर्दै भने, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही जनसङ्गठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’
भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गरेकी थिइन् भने केन्द्रीय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गरेका थिए । भेलामा सबै जनसङ्गठनका अध्यक्ष र प्रतिनिधिहरुले आफ्ना संगठनका गतिविधि जानकारी गराएका थिए ।
