मंगलबार ०१ पुस, २०८२

सरकार वातावरणमैत्री सडक संरचना बनाउन लागिरहेको छ : मन्त्री दाहाल

सरकार वातावरणमैत्री सडक संरचना बनाउन लागिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउन सरकारले ध्यान दिइरहेको बताएका छन् ।

पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै दाहालले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे ।

ठाउँ-ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए ।

‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौं’ उनले भने, ‘ठाउँ-ठाउँमा ज्येष्ठ नागरिकहरूको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ ।’

उनले थपे, ‘बसुन्धरा भन्दा अगाडि बनाउन किन सकिएन भने नेपाल सरकारले नसक्ने भयो । मुआब्जा दिन्छु भन्दा पनि नसक्ने अवस्था छ ।’

आर्थिक अभावका कारण निर्माण सुस्त भइरहेको तर्क उनले गरे । ‘त्यहाँभन्दा उता नेपाल सरकारले नै बनाउने र ठाउँ ठाउँमा बनाइरहेको पनि छ । रकम थोरै भएकाले गति धिमा नै छ । कोटेश्वरसम्म नै जोड्नुपर्ने भएको छ,’ उनले भने ।