राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमाथि सुझाव दिन आज अन्तिम दिन, साना दलहरू असन्तुष्ट
काठमाडौं । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा सुझाव दिने आज अन्तिम म्याद हो। आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार विभिन्न पक्षबाट सुझावहरू प्राप्त भइरहेका छन्। आज कार्यालय समयभित्र प्राप्त सबै सुझावहरू एकीकृत गरी अध्ययन गरिने बताइएको छ।
यसअघि आयोगले साउन ८ गते कार्यविधिको मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको थियो। राजनीतिक दलहरूलाई मस्यौदा अग्रिम रूपमा पठाएर सुझाव दिन आग्रह गरिएको थियो। आयोगले सबैलाई सुझाव दिन आजसम्मको समय सीमा दिएको हो।
प्रस्तावित कार्यविधिमा राजनीतिक दलहरूले आफैं मूल्यांकन गर्ने प्रक्रिया समेटिएको छ। सो मूल्यांकनको सञ्चालन, निरीक्षण र मार्गदर्शन गर्न निर्वाचन आयोगका सचिवको संयोजकत्वमा एक समिति रहने प्रस्ताव छ। उक्त समितिले दलको मूल्यांकन, मूल्याङ्कनको प्रगति अनुगमन, तथा आवश्यक परे छानबिन गर्ने अधिकार राख्ने व्यवस्था गरिएको छ।
दलहरूले मूल्याङ्कनमा पाउने अंकको आधारमा मूल्याङ्कन सूची तयार गरिनेछ। यो सूचीको आधारमा दलहरूले राज्यबाट प्राप्त गर्न सक्ने सुविधा व्यवस्थापन गर्न सहयोग पुग्ने आयोगको भनाइ छ। मूल्याङ्कनका मापदण्डहरूमा दलको कानूनी पालन, निर्वाचनमा सहभागिता, प्रतिनिधित्व लगायतका पक्ष समावेश छन्।
यद्यपि, यो कार्यविधिप्रति साना दलहरूले गम्भीर आपत्ति जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बुधबार सिंहदरबारमा कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बसेको थियो। बैठकले प्रस्तावित कार्यविधिलाई अस्वीकार्य भन्दै आज आयोगमा संयुक्त रूपमा लिखित सुझाव बुझाउने तयारी गरेको छ।
दलहरूको भनाइ अनुसार, आयोगले ल्याउन लागेको मूल्याङ्कन प्रणाली साना दलहरूको उपस्थितिमा आघात पुग्ने गरी तयार गरिएको छ, जसप्रति उनीहरू गम्भीर असन्तुष्ट छन्।
