सोमबार २२ मंसिर, २०८२

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन बनाउने विषयमा छलफल हुँदैछ : मन्त्री पाण्डे

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन बनाउने विषयमा छलफल हुँदैछ : मन्त्री पाण्डे

काठमाडौं । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेका हुन् ।

समितिमा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकताबारे छलफल भइरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

‘हामीले हवाई नीति बनाउँदैछौँ । अन्तिम चरणमा ड्राफ्ट भएको छ । २०१५ सालको ऐनलाई पनि हामी अब नयाँ मस्यौदा गर्ने क्रममा छौं । सौर्य एयरलाइन्स दुर्घटना र त्यो दुर्घटनाले उजागर गरेका विषयवस्तु र दिगो समाधानका बारेमा धेरै पटक छलफल गरिसकेका छौं,’ मन्त्री पाण्डेले भने, ‘मेरो बुझाइ के छ भने सेफ्टी इन्भेष्टिगेशन (सहज अनुसन्धान) जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्यारडिक्शन छ की भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौं ।’

न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निर्क्यौलमा सरकार चाँडै पुग्ने उनले बताए ।

‘हाम्रो मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान, छानब्नि समिति साधन श्रोतको कमी छ । कतिपय छानबिनका लागि विदेश जानुपर्छ । तर पनि काम गर्नुभएको छ । उहाँहरूसमेतलाई राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘न्यायिक छानबिन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निर्क्यौलमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल गर्दछौं । यत्तिकै यसलाई छोड्नु हुँदैन, निष्कर्षमा पुग्नुपर्छ । निष्कर्षमा पुगेर अघि बढौं ।’

मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको उनले बताए ।