निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा शिक्षाको स्तर थप खस्किन्छ : सांसद जैसवाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् ।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कम्पनी ऐनअनुसार सञ्चालन भइरहेका विद्यालयलाई गैरनाफामुलक बनाउने कुरा सही नभएको बताइन् ।
‘निजी विद्यालय भन्ने बित्तिकै कम्पनी ऐनअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ ?,’ उनले प्रश्न गरिन् ।
सांसद जैसवालले थपिन्, ‘जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तबरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्यो । नत्र सञ्चालन कसरी गर्ने ?’
उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् । ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरू हुनुपर्छ । नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ,’ उनले भनिन् ।
सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्नेकुरा सही नभएको धारणा राखिन् ।
