सोमबार २२ मंसिर, २०८२

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । सिंहलाई भ्रष्टचार मुद्धामा अदालतले दोषी ठहर गरेको थियो ।

अदालतको दोषी ठहर हुँदा समेत पदमा रहिरहेको भन्दै उनको राजीनामा पार्टीभित्रैबाट मागिएको थियो । विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा भ्रष्टाचार ठहर गरेको थियो ।

सिंहले सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यालय मार्फत शुक्रबार राजीनामा दिएका हुन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सिंहले राजीनामा दिएको जानकारी गराए । ‘पछिलो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ ।

सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ,’ सिंहले राजीनामा पत्रमा लेखेका छन्,‘म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ ।’

अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम जिल्ला सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था नरहेको उनले उल्लेख गरेका छन् ।

दुई कार्यकाल सर्लाहीको उपसभापति रहेका सिंह २०७८ साल फाल्गुण २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।