बजेट अभावले रोकिएको गैंडा गणना यसै वर्ष गर्ने तयारी
चितवन । विश्वकै दुर्लभ मानिने एकसिङे गैंडा गणना यसै वर्ष गर्ने तयारी गरिएको छ । यसै वर्षको फागुन/चैतसम्म गर्ने गरी आवश्यक स्रोतको जोहो गर्ने काम भइरहेको निकुञ्ज विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बताए ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका लागि २० लाख रकम विनियोजन गरेको छ । सरकारसँग विभागले डेढ करोड रकम माग गरे पनि २० लाख मात्रै बजेट विनियोजन गरिएको हो ।
गैंडा गणनाका लागि एक करोड ५० लाख रुपैयाँको हाराहारीमा खर्च हुने महानिर्देशक डा.कँडेलले जानकारी दिए । बाँकी रकम विभिन्न अन्य सहयोगी संस्थामार्फत जुटाउने विभागको योजना छ ।
विभागले निकुञ्जको दिगो व्यवस्थापन तथा गैंडा गणना जस्ता कार्यमा नीजि क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरिरहेको डा.कँडेलले बताए ।
उद्योग वाणिज्य महासंघ, विभिन्न बैंक तथा वितिय संस्थाहरुलाई पनि समेटेर यस अभियान जोड्ने प्रयासमा विभाग रहेको डा.कँडेलले बताए । निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई निकुञ्ज व्यवस्थापनसँग जोड्न विभाग लागेको उनले बताए ।
बजेट अभावमा गत वर्ष २०८१ फागुन/चैत महिना भित्र हुनुपर्ने गणना हुन सकेको थिएन । यसअघि २०७७ (सन् २०२१ ) साल चैत ९ गतेदेखि २७ गतेसम्म गैंडा गणना गरिएको थियो । हरेक चार चार वर्षमा गैंडा गणना गर्ने भनिए पनि विभिन्न कारणले हरेक वर्ष पछाडि धकेलिँदै आएको छ । सन् २०१५ पछि सन् २०२१ मा गणना भएको थियो । २०८१ (सन् २०२५) भित्रै हुनुपर्नेमा गणना हुन नसकेर अब सन् २०२६ मा मात्रै गैंडा गणना गरिने भएको हो ।
गैंडा गणनाका लागि करिब ५० लाख बराबरको सहयोग गर्दै आएको अमेरिकी परियोजना जल जंगल अचानक स्थगित भएपछि गत वर्ष गणना रोकिएको निकुञ्ज विभागका महानिर्देशक डा.कँडेलले बताए ।
गत वर्ष सरकारले पनि बजेट विनियोजन गरेको थिएन । गैंडा गणनामा अघिल्लोपटक नेपाल सरकारको एक करोड १० लाख र विभिन्न सहयोगी संस्थाले ३० लाख गरी एक करोड ४० लाख रकम खर्च भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए ।
प्रमुख संरक्षण अधिकृत डा.पन्तले ‘लजिष्ट्रिक’ व्यवस्थापनमा बढि खर्च लाग्ने बताए । गैंडा गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका संघसंस्थाले सहयोग गर्दै आएका छन् ।
गैंडा गणनाका लागि विभिन्न दातृ निकायको समेत मुख ताक्ने गरिन्छ । सरकारले मागे जति बजेट नदिँदा दातृ निकायलाई जोड्नु परेको महानिर्देशक डा.कंडेलले बताए ।
गैंडा गणना चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हुने गर्दछ ।
विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालले गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना आवश्यक भएको बताए । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने उनले बताए ।
‘साउन, भदौं र असोज बर्खा मास नै हुन्छ, चाडपर्व पनि सुरु हुन्छ, त्यसपछि मंसिर पुस माघ जाडो र कुहिरो लाग्ने भएकोले फागुनको अन्तिम वा चैतको पहिलो हप्ता मात्रै गणनाको काम थालिन्छ’, विभागका प्रवक्ता ढकालले भने, ‘२०/२५ दिनमा गणना गरे सकिन्छ भन्ने योजना बन्छ ।’
गैंडा गणना एक महिना भित्र नै सकिन्छ । रियल टाइम डाटा लिने र डाटाको स्क्रिनिङ धेर गर्नु नपर्ने भएकोले नतिजा पनि चाँडै नै सार्वजनिक हुन्छ ।
गणनाबाट आउने नतिजाका आधारमा गैंडाको घाँसे मैदान व्यवस्थापन, गैंडाको संख्या कुन ठाउँमा कस्तो छ भनेर सोही आधारमा योजना बनाउन सहज हुने र संरक्षणको योजना पनि बन्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.पन्तले बताए ।
