राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न सभापति देउवाले बोलाए बैठक
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको समितिको सभापतिबारे निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे बुढानिलबण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
