प्राविधिक शिक्षामा गुणस्तर सुनिश्चित गर्न ‘प्रत्यायन प्रणाली’ सुरु
काठमाडौं । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (सीटीभीईटी) क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले ‘विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली’ को औपचारिक सुरुवात गरेको छ।
बुधबार काठमाडौंमा आयोजित ‘गुणस्तरीय टीभीईटी : अहिलेको आवश्यकता’ शीर्षकको राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रणाली उद्घाटन गर्दै यो प्रक्रिया प्रारम्भ भएको घोषणा गरे ।
यो सुरुवातलाई नेपालको टीभीईटी क्षेत्रमा गुणस्तर सुनिश्चितताका लागि एक महत्त्वपूर्ण कोशेढुंगा मानिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपालमा प्राविधिक शिक्षा स्तर तत्काल माथि उकास्नुपर्ने आवश्यकतामा जोड दिए । ‘यदि हामी पछिल्ला दुई दशकलाई तुलना गर्छौं भने डिजिटल उपकरणहरूले जीविका र काम गर्ने तरिकामा ठूलो परिवर्तन ल्याएको महसुस गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो वर्तमान आवश्यकता के हो भनी बुझ्न जरुरी छ । यसबारे सचेत भएर अघि बढ्दामात्र हामीले शिक्षा, विशेषगरी टीभीईटीमा गुणस्तर अभिवृद्धि गर्न सक्छौं ।’
उनले युवालाई रोजगारीका लागि सक्षम बनाउन र देशमा समावेशी आर्थिक वृद्धि प्रवर्द्धन गर्न गुणस्तरीय टीभीईटीको महत्त्वलाई विशेष रूपमा प्रकाश पारे ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव महेश भट्टराईले नेपालको टीभीईटी प्रणाली सुदृढ गर्न प्रमाणीकरण एक अनिवार्य कदम भएको बताए ।
‘यो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणाली विद्यमान अनुगमन र मूल्यांकन प्रणालीमा आधारित छ,’ उनले भने । गुणस्तर कागजमा मात्रै सीमित नभई परिणाममा देखिनुपर्नेमा जोड दिँदै उनले उद्योगलाई टीभीईटीसँग जोड्नुको विकल्प नभएको उल्लेख गरे ।
सम्मेलनका प्रमुख वक्ता स्विट्जरल्यान्डको ईटीएच ज्युरीचकी प्रा. डा. उर्सुला रेनोल्डले आफ्नो प्रस्तुति मार्फत अन्तर्राष्ट्रिय मापदण्ड, उद्योगसँगको सम्बन्ध, विद्यार्थी–केन्द्रित शिक्षा र विश्वका उत्कृष्ट अभ्यासबारे जानकारी गराइन्।
उनले यी उत्कृष्ट अभ्यासलाई आधार मान्दै नेपालका लागि कार्यान्वयनयोग्य रणनीति बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वीस विकास सहयोग (एसडीसी) र युनेस्कोका अन्य वक्ताहरूले पनि नेपालमा टीभीईटी रूपान्तरणका लागि आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलनमा विभिन्न महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल भएको थियो । प्रस्तुत गरिएका मुख्य विषयमा ‘नेपालमा टीभीईटी वित्तीयकरण : रणनीतिक योजना (टीएसएसपी) का अवसर र चुनौतीहरू’, ‘टीभीईटी विद्यालयहरूको प्रमाणीकरण : गुणस्तर सुनिश्चित गर्ने उपाय’, ‘प्रत्यायनको यात्रा’, ‘गुणस्तरीय टीभीईटी रोजगारदाताहरूको दृष्टिकोण’ र ‘हरित टीभीईटी : युनेस्कोको आधार’ अध्ययनका मुख्य निष्कर्षमा आधारित थिए ।
यसैगरी स्वीस कन्ट्याक्टकी डा. उषा भण्डारीको संयोजनमा ‘टीभीईटी विद्यालयहरूको गुणस्तर : हामी कहाँ उभिएका छौं ?’ शीर्षकमा एक विशेष प्यानल छलफल पनि आयोजना गरिएको थियो । उक्त छलफलले प्राविधिक शिक्षाको हालको अवस्था, विद्यमान क्षमता, कमी कमजोरी र भविष्यका प्राथमिकतालाई खुला संवाद मार्फत उजागर गरेको थियो।
त्यसैगरी समापन सत्रमा बोल्दै स्वीस कन्ट्याक्ट नेपालका देशीय निर्देशक सञ्जय कार्कीले युवाको रोजगारी क्षमता बढाउन सबै पक्षबीचको सहकार्य र विशेषगरी निजी क्षेत्रको संलग्नताको महत्त्वलाई पुनः स्मरण गराए ।
शिक्षा मन्त्रालयका सहसचिव प्रसाद भट्टराईले सम्मेलनका प्रमुख बुँदालाई संक्षेपमा प्रस्तुत गर्दै भने, ‘प्रमाणीकरण भनेको गुणस्तरमा देखिने दीर्घकालीन सुधार र वृद्धिको यात्राको सुरुवात मात्र हो ।’
सम्मेलन नेपालको विकास रणनीतिको आधारशिलाका रूपमा गुणस्तरीय टीभीईटी स्थापित गर्ने, युवालाई सशक्त बनाउने र देशको कार्यशक्तिलाई सबल बनाउने सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता सहित सम्पन्न भएको छ ।
