शुक्रबार २६ मंसिर, २०८२

'पार्टीमा यो के हुन लागेको ?’ भन्दै कोशी सचिवालय बैठकमा ‘प्रचण्ड’माथि प्रश्न

'पार्टीमा यो के हुन लागेको  ?’ भन्दै कोशी सचिवालय बैठकमा ‘प्रचण्ड’माथि प्रश्न

काठमाडौँ। नेकपा माओवादी केन्द्र, कोशी प्रदेश समिति बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो, अनुशासनहीनता र नेतृत्वमाथि लगाइएका आरोपका विषयमा अध्यक्षको आलोचना गरेका हुन् ।

पार्टीले प्रदेशको नाम स्वीकार नगरेका कारण बोर्डमा प्रदेश १ नै लेखिएको छ ।

बैठकमा एक प्रदेश सचिवालय सदस्यले अध्यक्ष प्रचण्डमाथि नै ‘असुली धन्दा’को आरोप लाग्दा नेताहरूले ताली बजाएको भन्दै प्रश्न गरे ।

बैठकमा बोल्ने क्रममा ती नेताले भने, ‘सुशासन, सामाजिक न्याय र भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने माओवादी र प्रचण्ड हो भन्ने पनि छौँ, मनमोहन बाहेक अर्थात् प्रचण्ड समेत भ्रष्ट हो भनेर पार्टीकै नेताले आरोप लगाउँदा थपडी बजाउने पनि यहीँ हलमा छौँ । के हुन लागेको हो ?’

बैठकमा १८ महिने सरकारको काम र त्यसपछिको पार्टी अभियानले जागेको उत्साहलाई नेतृत्वले संसद् खुलाउन गरेको ‘दुई बुँदे’ सहमतिले धूमिल बनाएको आरोप लगाए ।

‘काँग्रेसमा नेतृत्व संकट, एमालेमा विद्याको चुनौती आएको बेला नै हाम्रो पार्टीमा किन बखेडा सिर्जना भयो ? यो सामान्य र स्वभाविक हो भन्ने लाग्दैन, गम्भीर हुनुपर्छ,’ ती सदस्यले भने ।

विचारको बहसको नाममा गुटबन्दी र गिरोह चलाउने काम भइरहेकाले नियन्त्रण गर्न प्रदेशका नेताहरूले माग गरे ।

जनवादी केन्द्रीयताको मर्म छलफलमा स्वतन्त्रता र काम कारबाहीमा एकरूपता हुनुपर्ने भए पनि स्थायी समितिको करिब शतप्रतिशतले गरेको निर्णय पनि नमान्ने र त्यसमा हो मा हो मिलाउनेहरूप्रति निर्मम बन्नुपर्ने माग गरे ।

बैठकमा सहभागीहरूले गुटबन्दी चलाउनेलाई कारबाही हुनुपर्ने माग गरे ।

विचारको बहसलाई प्रोत्साहन गर्नुपर्ने तर बहस गरेकै आधारमा कारबाही गर्न नहुने, पार्टी किन कमजोर भयो भन्ने समीक्षा गर्नुपर्ने र संगठनात्मक अराजकता नियन्त्रण गर्नुपर्नेमा नेताहरूको माग थियो ।

पार्टी नेतृत्वले हल्का अभिव्यक्ति दिने र शीघ्र प्रतिक्रिया दिने काम गर्न नहुने प्रदेश तहका नेताहरूको माग थियो ।

स्थायी समिति बैठकपछि पनि पार्टीमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको नेताहरूको भनाइ थियो ।

कोशी प्रदेशको नामाकरणको विषयमा प्रदेश संसदीय दलले गल्ती गरेको भन्दै बैठकमा एक नेताले भने, ‘पार्टीले स्वीकार गरे पनि न गल्ती गर्नेलाई कारबाही भएको न त्यो सच्याउने प्रक्रिया नै अघि बढ्यो ।’

बैठकमा सचिवालयका ३० जना र १० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।