बिहीबार २५ मंसिर, २०८२

रुपन्देही– ३ को उपनिर्वाचन : एकीकृत समाजवादीबाट घनश्यामसहित ७ जनाको नाम सिफारिस

रुपन्देही– ३ को उपनिर्वाचन : एकीकृत समाजवादीबाट घनश्यामसहित ७ जनाको नाम सिफारिस

काठमाडौं । आगामी–१७ कार्तीकमा रुपन्देही– ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।

पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ ।

कार्यदलले सातैजनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीले जानकारी दिएका छन् ।