एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । तीनदिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधीहरू काठमाडौं आइपुगिसकेको गौतमले बताए ।
महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।
महाधिवेशनस्थललाई सक्दो डिजिटलयुक्त बनाइएको छ । प्रतिनिधि परिचयपत्र स्क्यान गर्ने छवटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउनेछन् । प्रतिनिधीहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई झकिझकाउ बनाउन प्रवेशद्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्वीर र दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशनस्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्णकदका तस्वीर छन् । यसैगरी, कार्लमार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्वीरहरू राखिएका छन् ।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदनपछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिनेछ । साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए ।
मञ्च व्यवस्थापन समिति संयोजक एवं पार्टी पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार हलबाहिर निरन्तर विभिन्न जात, जाती र समुदायका झाँकीहरू प्रस्तुत गरिनेछ । उक्त दृष्य हलभित्रका प्रतिनिधिहरूले डिजिटल बोर्डमार्फत हेर्नेछन् ।
भोलि प्रतिवेदनहरूमाथि नौवटा समूहमा छलफल हुने र पर्सी समूहले पेस गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ ।
एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।
