विधान महाधिवेशनमा ओली : ‘मुर्धन्य नेता कुहिरोका काग भए, कार्यकर्ताले पार्टी बचाए’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोका कागजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टी बचाउन कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
एमालेको इतिहास र विरासत निकै लामो भएको उल्लेख गर्दै उनले नेताहरु कुहिरोका काग जस्तै बनेपनि कार्यकर्ताहरुले पार्टी जोगाउँदै आएको बताए । करिब २४ सय नेता कार्यकर्तामाझ ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरुले पार्टी बिभाजन गरेर चोट लगाएपनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठुलो क्षति हुन नपाएको स्मरण गरे ।
एमाले निर्माणमा लागेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले उनै ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय गौतम पनि नेकपा एकीकृत समाजवादीमा पुगेका छन् ।
‘२०७८ सालमा पार्टीमा केही चोट लाग्यो, लगाए । मुर्धन्य नेताहरु कुहिरोका काग भए, तर कार्यकर्ता बहकिएनन् र पार्टी जोगाए,’ अध्यक्ष ओलीले भने, ‘यसले यो पार्टी र पार्टीको नेतृत्वप्रतिको विश्वास छ भन्ने देखाउँछ ।’
उनले कार्यकर्ताले देखाएको विश्वासप्रति आफू ढुक्क रहेको पनि बताए । ‘म ढुक्क छु, आन्दोलन हाँक्न सकिन्छ । मलाई केही भएपनि यो पार्टी केही हुँदैन,’ ओलीले नेता कार्यकर्तालाई ढाडस दिँदै भने, ‘नेता कार्यकर्ताको समर्पण, निष्ठा र योगदान उदाहरणीय छ ।’
पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन विशेषगरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय रहेको ओलीको भनाइ छ ।
‘महिला दिदीबहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘आन्तरिक एकतासँगै वैचारिक स्पष्टता र अनुशासन पार्टीको मूल आधार हो ।’
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति पार्टीको अटल अडान रहेको भन्दै ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग रहेको स्मरण गराए । कुनै पनि दबाब, धम्की वा प्रलोभनमा नपरी राष्ट्रिय हित सर्वोपरी हुने उनको भनाइ छ ।
ओलीले कम्युनिस्ट धारको हिसाबले एमाले जेठो र पुरानो धार भन्दै ९३ वर्षदेखि अघि बढेको यो पार्टी जनताका बिचमा आशाको केन्द्र बनेको दाबी गरे ।
