बुधबार २४ मंसिर, २०८२

‘तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौँ’: ओली

‘तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौँ’: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको बताएका छन् ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् ।

‘आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई विचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौँ’ उनले भनेका छन्, ‘आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।’

तत्काल वाम एकताको सम्भावना नरहेको संकेत गरे पनि ओलीले दस्तावेजमा ‘नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा रहेको’ उल्लेख गरेका छन् ।

वाम एकताबारे ओलीले ‘विभाजन, पुनर्गठन, पुनरोदय र निर्णायक शक्तिको निर्माण’ उपशीर्षकमा लेखेका छन् 

नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा छ । तर कुन एकता र कुन प्रकारको एकता ? मुख्य प्रश्न यो हो । मुख्य नेताहरूको स्वार्थ केन्द्रित ‘एकता’ गर्ने, त्यसपछि पार्टीको सम्पूर्ण ऊर्जा र समय नेताहरूको ‘व्यवस्थापन’ र गुनासो सम्बोधनमा खर्चिनुपर्ने र स्वार्थ पूरा नहुँदाको दिन क्षणभरमै भत्किने खालको एकता हामीलाई चाहिएको छैन । जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता मात्रै जनता र कार्यकर्ताले खोजेको एकता हो । त्यस्तो एकता मात्रै दिगो र उपलब्धिपूर्ण हुन्छ ।