कस्तो हुन्छ 'नेपाली विशेषताको समाजवाद' ? यस्तो छ ओलीको प्रस्ताव
काठमाडौं । नेकपा एमालेले सोभियत मोडलभन्दा फरक तर नेपाली विशेषताको समाजवाद ल्याउनका लागि छलफल थालेको छ ।
पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत नेपाली विशेषताको समाजवाद शीर्षकको दस्ताबेजमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र उसको नेतृत्वमा ल्याइने समाजवादको व्याख्या गरेका छन् ।
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी नेपालको विशेषतामा कस्तो हुन्छ भन्ने पनि उल्लेख गरेका छन् । दस्ताबेजमा ओलीले बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने र एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने भनेका छन् ।
कम्युनिष्ट पार्टीबारे उनले भनेका छन्- विश्व कम्युनिष्ट आन्दोलन र समाजवादी प्रणालीहरूका अनुभवहरूलाई ध्यानमा राख्दै कम्युनिष्ट पार्टीलाई निरन्तर जनताको बिचमा स्थापित गर्ने, जनताको सुखदुःखको साथी र सच्चा प्रतिनिधिका रूपमा यसको चरित्रलाई अक्षुण्ण राख्ने, राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिनेछ ।
उनले कम्युनिष्ट पार्टीलाई नेपाली इतिहासका गौरवपूर्ण पक्षहरू, संस्कृतिका जीवन्त आयामहरू र नेपालीपनलाई प्रबद्र्धन गर्ने साधकका रुपमा विकास गर्ने बताएका छन् ।
समाजवादलाई कुनै आकस्मिक, पराई या शून्यबाट सिर्जित व्यवस्था होइन, नेपाली इतिहासक हजारौं वर्षको विकासको स्वाभाविक परिणतिका रूपमा, त्यसको निरन्तरता र उत्तराधिकारीका रूपम विकास गरिने उनले भनेका छन् ।
