बुधबार २४ मंसिर, २०८२

एमाले विधान महाधिवेशन: फरक मतलाई मतदान प्रक्रियाबाट टुङ्ग्याइने

एमाले विधान महाधिवेशन: फरक मतलाई मतदान प्रक्रियाबाट टुङ्ग्याइने

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा उठेका फरक मतलाई मतदान प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार १० समूहले गरेको छलफलको प्रतिवेदन आज एक–एक जना प्रतिनिधिले हलमा प्रस्तुत गर्नेछन् । हरेकलाई ३० मिनेट समय दिइने उक्त प्रस्तुतिपछि अध्यक्ष केपी ओलीले जवाफ दिनेछन् । उनले कतिपय विषयमा अध्यक्षको निर्णय गर्ने अधिकार प्रयोग गर्नेछन् । तर, विवादका विषयलाई भने मतदान प्रक्रियाबाट टुङ्ग्याउने तय भएको छ ।

हाल एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्याता नवीकरण रोकिएको बारे विवाद छ । तर, अधिवेशन हलमा भने उक्त आवाज निकै सानो उठेको सहभागीले बताएका छन् ।

शुक्रबारको उद्घाटन समारोहमा अध्यक्ष ओलीले सम्बोधन गर्दा ‘यो विधान महाधिवेशन हो, यसले नीति तय गर्छ, कसैको सदस्या दिने/नदिनेबारे पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटी तय गर्छ’ भनेका थिए । उनको निर्देशनात्मक वक्तव्यपछि भण्डारीलाई सदस्यता दिलाउने पक्षमा सानो आवज उठेको प्रतिनिधिको भनाइ छ ।

स्थायी कमिटी सदस्य कर्ण थापाले  भण्डारीलाई सदस्यमा रोक्न नहुने भन्दै फरक मत राखेका थिए । तर, उनले अध्यक्षसँगको सहमतिविपरीत हलमा प्रस्तुत गर्नबाट वञ्चित गराइएको बताए । यद्यपि, उनले तयार पारेको फरक मत भने सहभागीलाई बाँडेको जानकारी दिएका छन् ।

अब एमाले विधान महाधिवेशनमा लगातार दुई कार्यकालभन्दा बढी कमिटीको नेतृव गर्न पाउने, ७० वर्ष उमेरहद कायम नहुनेलगायतको विषयमा मतदान भई नीती पारित हुनेछ । साथै, भण्डारीको सदस्यताको विषयसमेत प्रवेश भइसकेको अवस्थालाई प्रतिनिधिको मत विभाजन प्रक्रियाबाट अन्तिम रूप दिइनेछ । हलमा रहेका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनालाई विवादास्पद विषयबारे हात उठाएर मत विभाजन गर्न लगाउने तयारी रहेको छ ।

थापाको फरक मतलाई समेत स्वीकार वा अस्वीकार गर्नेबारे समेत मत विभाजन गर्ने तयारी रहेको बुझिएको छ ।