जेन–जीको आक्रोश सडकमा, सरकारले गोलीले जवाफ दियो
–प्रकाश थपलिया
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न सहरमा स्वतन्त्र युवाहरू (जेन–जी पुस्ता) ले गरेको भ्रष्टाचारलगायतका मुद्दाहरु उठान गर्दै सरकारका गलत कदम र विकास विरोधविरुद्ध स्वतःस्फूर्त गरिएको आन्दोलनमाथि सरकारले कठोर दमन गरेको छ।
शान्तिपूर्णरुपमा स्वतःस्फूर्त नयाँ पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले प्रत्यक्ष गोली प्रहार गर्दा यो समाचार तयार पार्दासम्म १४ जनाले ज्यान गुमाएको विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको छ भने कैयौँ घाइते अवस्थामै अस्पतालमा उपचाररत छन्।
प्रहरीको गोली प्रोटोकल तोडियो
प्रहरीको नियम अनुसार गोली चलाउनुपरेमा पहिलो प्रहार खुट्टातर्फ गर्नुपर्ने हुन्छ। तर, आजको आन्दोलनमा टाउको र छाती जस्ता संवेदनशील अंग लक्षित गरी गोली प्रहार गरेको आरोप प्रहरीमाथि लागेको छ । यसले राज्य संयन्त्रले युवाहरूलाई नागरिक होइन, शत्रुको रूपमा व्यवहार गरेको भन्दै जनआक्रोश थप बढ्ने देखिन्छ ।
राजनीतिक दल वा समुदायको आन्दोलन थिएन
यसपटकको प्रदर्शन कुनै राजनीतिक दल वा समुदायको नेतृत्वमा थिएन। स्वतन्त्र युवाहरू सामाजिक सञ्जालमार्फत लामो समयदेखि व्यक्त गर्दै आएको असन्तुष्टी सामाजिक सन्जालमाथि एकाएक प्रतिबन्ध लगाएपछि त्यो सडकमा पोखिन पुगेको देखिन्छ ।
अन्दोलनमा उत्रिएका नयाँ पुस्ताले नेताहरूको बढ्दो भ्रष्टाचार अन्त्य, अवसर नपाएको, र देश छोड्न नचाहने, देशमै केही गर्न ईच्छा भएका युवाहरुको बुलन्द आवाजमाथि प्रहरी अस्वाभाविक हस्तक्षेप बढाएको देखिएको छ । आफ्नो देश आफैं बनौं भन्ने युवाहरुको दृढ संकल्पसहित साहसलाई हौसला दिनुपर्नेमा राज्यले यसलाई सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको आक्रोश मात्र ठानेर ठाडो हस्तक्षेकारी र दमनकारी व्यवहार गर्दा बढ्दो जनआक्रोशको ज्वालामाथि थप तेल थप्ने काम भएको छ भने राज्यको लोकतान्त्रिक आचारणमाथि समेत प्रश्न उठेको छ ।
ऐतिहासिक आन्दोलनहरूसँग तुलना गर्दा नेपालमा अघिल्ला आन्दोलनहरू प्रायः संगठित राजनीतिक शक्तिको नेतृत्वमा भएका थिए। २००७ सालको आन्दोलनमा राणा शासनविरुद्ध सयौँले बलिदान गरे।
२०४६ सालको जनआन्दोलनमा करिब ५० जना मारिए। २०६२/६३ सालमा भएको जनआन्दोलनमा करिब २० जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।
तर, आज काठमाडौंसहित देशका प्रमुख सहरहरुमा भएको स्वतन्त्र युवाहरूले नेतृत्व गरेको आन्दोलनमाथि यसरी प्रत्यक्ष गोली प्रहार गर्दा काठमाडौंमा मात्रै १४ जनाले ज्यान गुमाउनुपरेको छ भने धेरै प्रदर्शनकारीहरु घाइते हुनु परेको छ । अहिलेसम्म कति जनाको निधन भएको छ भन्ने एकिन हुन सकेको छैन भने मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
यही कारणले प्रश्न उठेको छ – “यदि आन्दोलन कुनै राजनीतिक दलको ब्यानरमा भएको भए, सरकारले यति सजिलै गोली चलाउने हिम्मत गर्थ्यो त ? ”
