बुधबार २४ मंसिर, २०८२

सुशीला क्याबिनेटमा को–को बन्दै छन् मन्त्री ?

सुशीला क्याबिनेटमा को–को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको अनौपचारिक छलफलमा जुटेकी छन् । एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतले शिलापत्रलाई दिएको जानकारीअनुसार भोलिसम्म मन्त्रीहरू नियुक्तिको प्रयास भइरहेको छ । स्रोतले भन्यो, 'भोलिसम्म केही मन्त्रीहरू नियुक्तिको प्रयास भइरहेको छ, त्यसका लागि छलफल तीव्र भएको छ ।'

यद्यपि मन्त्रिपरिषद्ले पूर्णता पाउन भने केही दिन लाग्नेछ । कार्की प्रधानमन्त्री निवास बालुवाटारमा सरिसकेकी छिन् । अहिले छलफलहरू त्यही हुन थालेका छन् । स्रोतका अनुसार जेन–जी समूहको प्रतिनिधित्व गर्ने केही युवा मन्त्री हुने सम्भावना छ ।

त्यसमा ओमप्रकाश अर्याल, कुलमान घिसिङ, सागर ढकाल भूपेन्द्र खड्कालगायतको नाम जेन जीका विभिन्न समूहमा छलफल भइरहेकाे छ । उनीहरूको नामसहित नेपाली सेनानिकट केही व्यक्ति पनि मन्त्री हुने सम्भावना रहेको स्रोतको दाबी छ । यद्यपि सेनासँग निकट रहेका व्यक्तिमध्ये को मन्त्री हुने भन्ने चाहिँ प्रस्ट नभएको पनि स्रोतले उल्लेख गरेको छ ।

जेन–जीको तर्फबाट सुदन गुरुङहरूले कसरी प्रतिनिधि चयन गर्छन् भन्ने प्रस्ट भएको छैन । गुरुङको समूहको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्याल र रमण सिंहले काम गरिरहेका छन् ।

यसैबीच जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ । 

२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए । कार्की शुक्रबार राति प्रधानमन्त्री नियुक्त भइन् ।

उनले आइतबार पदभार ग्रहण गर्ने तयारी छ । सोही दिन मन्त्रीमण्डल गठनको तयारी भइरहँदा युवाहरू भने मन्त्रीको लागि भर्चुअल चुनाव गर्दै छन् । अब बन्ने मन्त्रीमण्डल सानो आकारको हुने बताइएको छ । मन्त्रिमण्डल गठन गर्दा नयाँ पुस्ता र पुराना अनुभवीहरूको संयोजन मिलाउने बारे छलफल चलिरहेको छ । जानकार स्रोतले शिलापत्रसँग भन्यो, 'नयाँ पुस्ताको जोससँगै पाका र अनुभवी व्यक्तिसमेत समेटेर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।'