बुधबार २४ मंसिर, २०८२

सुरु भयो सरकारको सुपथ मूल्य पसल

सुरु भयो सरकारको सुपथ मूल्य पसल

काठमाडौं । आज सोमबारदेखि देशभर सरकारी सहुलियत पसल (सुपथ मूल्य पसल) सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएका पसलहरुमा सर्वसाधारणहरुले किनमेल गरिरहेका छन् ।

सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ ।

त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।

कम्पनीले जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रहरूबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी ५ रुपैयाँ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ भने साल्ट ट्रेडिङले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राखिएको जनाएको छ ।