बुधबार २४ मंसिर, २०८२

शीर्ष नेताले लोकतन्त्र असफल बनाए, बिदा गरौं : पुरञ्जन आचार्य

शीर्ष नेताले लोकतन्त्र असफल बनाए, बिदा गरौं : पुरञ्जन आचार्य

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेकै नेताहरू असफल भएका आन्दोलनबाट पुष्टि भइसकेको तर्क गरे ।

न्युज एजेन्सी नेपालसँगको संवादमा विश्लेषक आचार्यले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको बताए ।

‘उनीहरूको नेतृत्वमा लोकतन्त्र असफल भएको छ । उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन्, जसको सरकार हुँदा गोली चलेको छ’ उनले भने, ‘एकातिर कांग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो ।’

उनले थपे, ‘आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ । उनीहरू राजकाज चलाउन पूर्ण रूपमा फेल भए । जेसुकै कारणले होस् । आम जनतको लागि यो सरकार पूर्ण रूपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरूको असफलतामा टेकेर भएको हो ।’

विश्लेषक आचार्यले सत्ता बाहिर रहेको माओवादी केन्द्रका नेताले पनि यसअघि नै राजीनामा दिनुपर्ने तर्क गरे । ‘दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन् । यी तीनजनै नेताहरूले आफ्नो ढंगले जति हामीले गर्‍यौँ, अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो’ उनले भने, ‘कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो । होइन भने दासत्व स्वीकार गरेर बस्ने ।’

तीन दलका कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई सचेतापूर्वक पार्टीबाट बिदाइ गर्नुपर्नेमा उनले जोड दिए ।