मंगलबार २३ मंसिर, २०८२

आशिका तामाङ : जसले 'जेन जी आन्दोलन' मा रचनात्मक भूमिका खेलिन्

आशिका तामाङ : जसले 'जेन जी आन्दोलन' मा रचनात्मक भूमिका खेलिन्

काठमाडौं । जेन जी आन्दोलनको भीषण परिस्थितिमा उदाएको एक नाम हो– आशिका तामाङ । सुरुवाती दिनमा उनको क्रियाकलापलाई कतिपयले हल्का रूपमा लिए पनि आन्दोलनकै उथलपुथलबीच उनले देखाएको रचनात्मक नेतृत्व, मानवीय समर्पण र मातृसुलभ करुणाले उनलाई सबैको प्रिय पात्र बनाइदिएको छ ।

माइतीघरमा सुरु भएको प्रदर्शनमा आशिकाले पहिलो दिनमै सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैलाई पानी र बिस्कुट बाँडेर सद्भाव र हार्दिकताको सन्देश दिएकी थिइन् । जब आन्दोलन तोडफोड र हिंसामा बदलिन थाल्यो, उनले फेसबुकमार्फत संयम र शान्तिको आग्रह गर्दै लेखिन्— “मैले भनेको बेला तपाईंहरू फर्कनुभयो, तर बीचमा अरूबाट भड्काइएको देखिन्छ।”

तर, आन्दोलन रक्तपातमा परिणत भएपछि राजधानीका अस्पतालहरू स्कुले पोशाकमै आएका घाइते विद्यार्थी र युवाले भरिन थाले । कतिपय बिहानैदेखि भोकभोकै प्रदर्शनमा थिए, कसैको अभिभावकलाई खबरै थिएन । यस्तै भयावह क्षणमा आशिका तामाङ सिभिल अस्पतालमा खाना, पानी र औषधि बोकेर पुगिन् । उनले घाइतेलाई आफ्ना सहोदरझैँ माया दिँदै उपचार समन्वय, परिवारसँग सम्पर्क, र आर्थिक सहयोगका लागि सक्रिय भूमिका खेलिन् ।

आन्दोलनपछिको दिनहरूमा अझै मार्मिक दृश्य देखियो– “कान्छा...भाई...कहाँ गोली लाग्यो...तिमीले गर्दा देशमा परिवर्तन आयो...बधाई छ...” भन्दै उनी घाइतेलाई ढाडस दिँदै नगददेखि चामल, तेल, कपडा, खाद्यान्न बोकेर घर–घर पुगिरहेकी छिन् ।

आशिकाले प्रत्येक घाइतेलाई न्यूनतम २५ हजार रुपैयाँ सहयोग गरेकी छन् भने गम्भीर अवस्थामा रहेका केहीलाई अझ बढी सहयोग उपलब्ध गराएकी छन् । आज उनी घाइतेहरूको लागि ‘दिदी’ मात्र होइन, भरोसाको नाम बनेकी छिन्—कहिले चामलको बोरा बोकेर, कहिले तेल र कपडासहित ढोकामा पुग्ने उनको छवि सामाजिक सञ्जालदेखि गाउँ–शहरसम्म फैलिएको छ ।

यही मानवीय दृश्यले आन्दोलनकै जगमा बनेको सरकारलाई गिज्याइरहेको छ । किनभने आन्दोलनकै कारण प्रधानमन्त्री र मन्त्री बनेकाहरूले घाइतेको उपचार र अवस्थाबारे ढिलासुस्ती गरिरहेका छन् । सरकारले शहीद घोषणा गर्ने र राहत रकम घोषणा गर्ने मात्र गरेको छ, तर वास्तविक जिम्मेवारी पुरा गर्न भने चुकेको छ ।

आशिकाको मौन संदेश स्पष्ट छ– “आन्दोलनबाटै तपाईंहरू प्रधानमन्त्री र मन्त्री बन्नुभएको हो भन्ने कुरा एक सातामै सम्झाउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो। शहीदलाई सम्मान गरेर वा राहत घोषणा गरेर मात्र जिम्मेवारी सकिँदैन।”

जेन जी आन्दोलनमा सुरुवाती दिनमै पानी, बिस्कुट बाँडेर सद्भावना फैलाएकी आशिका तामाङ अहिले आन्दोलनपछिको पीडादायी घडीमा घाइते युवाहरूको लागि निस्वार्थ सहारा बनेकी छिन् । उनको सेवा, समर्पण र संवेदनशीलताले उनलाई केवल एक आन्दोलनकै नभई पुस्ताकै आत्मविश्वास र आशाको प्रतीक बनाइदिएको छ ।