बुधबार २४ मंसिर, २०८२

‘खरानी टकटक्याएर अघि बढ्छौँ, तर विश्वंश नहुने ग्यारेन्टी के ?’ भन्दै उपाध्यक्ष ढकालको प्रश्न

‘खरानी टकटक्याएर अघि बढ्छौँ, तर विश्वंश नहुने ग्यारेन्टी के ?’ भन्दै उपाध्यक्ष ढकालको प्रश्न

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेन जेड आन्दोलनले आर्थिक रूपमा ठूलो क्षति पुगेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् ।

सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताउँदै उनले जेन जेड आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको बताए ।

‘जेन जेड आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गरेका छौँ । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ ? फेरि यस्तै विध्वंश भयो भने के गर्ने ?’

यसबारे सरकारसँग कुरा गरेको र सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । खरानी टकटक्याएर अगाडि बढे पनि फेरि यस्तै विध्वंश नहोला भन्न नसकिने उनले बताए ।

‘सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्व पनि खर्च गरेका हुन्छौँ । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ । अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्छ ।’