माओवादीले महाधिवेशन र निर्वाचनमा जेनजी पुस्तालाई जोड दिने
काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन र आगामी निर्वाचनमा जेनजी तथा युवा पुस्तालाई जोड दिने भएको छ ।
यस्तो प्रस्ताव काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेका हुन् ।
जेनजीको माग अनुसार राजनीतिक दल र शासन सत्तामा जेनजी र युवा पुस्ताको प्रतिनिधित्व गराउन पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यसै अनुसार पार्टी रुपान्तरित हुने मोडमा रहेको बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले भनेका छन्, ‘महाधिवेशन र आगामी निर्वाचनमा जेनजी र युवा पुस्तालाई जोड दिने हो।’
माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भनेको छ । यो प्रस्ताव पदाधिकारीबाट स्थायी समिति हुँदै केन्द्रीय समितिमा प्रस्तुत भएको छ ।
यस अन्तर्गत प्रचण्डले नै केन्द्रीय समितिको बैठकमा पार्टी पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका छन् । महाधिवेशन आयोजक समितिको प्रस्तव प्रस्तुत गरेका छन् ।
