आर्यतारा बनिन् नयाँ कुमारी, मंगलबार आसन ग्रहण
काठमाडौं । काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको छ ।
आर्यतारालाई मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।
शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो ।
संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ ।
कुमारीलाई जीवित देवीको रुपमा पुज्ने चलन छ ।
