बुधबार २४ मंसिर, २०८२

पूर्वमन्त्री गणेश साहले छाडे माओवादी केन्द्र

पूर्वमन्त्री गणेश साहले छाडे माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।

योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’

साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।

अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक–पटक दोहोर्‍याए ।

नयाँ पार्टी खोलेकाहरूले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरिरहेको उल्लेख गर्दै उनले आफू त्यस्तो भूमिकाका लागि तयार नहुने बताए । उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’