सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव, छानबिन र कारबाही गर्न माग
चितवन। सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि भरतपुर अस्पतालमा तनाव पैदा भएको छ।
पर्सा स्थायी घर भएकी ३० वर्षकी संगीता विक शनिबार उपचारको क्रममा निधन भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै अस्पतालमा नाराबाजी गरेका छन्।
मृतकका परिवार र आफन्तले प्रसूति सेवा लिने वार्ड अगाडि भेला भई छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
अहिलेसम्मको जानकारी अनुसार, संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि अस्पताल भर्ना गरिएको थियो। भिडियो एक्सरेमा शिशुको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनलाई नर्मल डेलिभरीको प्रयास गरिएको थियो।
तर २२ कात्तिकमा उनको अवस्था बिग्रँदै गएपछि रातको करिब ९ बजे आईसीयूमा सारियो। त्यसै राति ११:४० मा उनी मृत्युवरण भइन्।
अस्पतालका प्रवक्ता एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको बताएका छन्।
मृतकका आफन्त भने शिशुको धड्कन नदेखिएको तत्कालै शल्यक्रियाबाट बच्चा निकालिनु पर्नेमा जोड दिएका छन्। अस्पतालले भने शिशुको मृत्यु पेटभित्रै भइसकेको हुँदा आमालाई अनावश्यक जोखिममा नपार्ने उद्देश्यले नर्मल डेलिभरीको प्रयास गरिएको स्पष्ट पारेको छ।
डा. सापकोटाका अनुसार, सुत्केरी हुन व्यथा लाग्ने औषधि चलाइँदै गर्दा संगीता ‘कार्डियाक अरेस्ट’ भइन् र आईसीयूमा सीपीआर मार्फत बचाउने प्रयास भए पनि सफल हुन सकेन।
