सोमबार २२ मंसिर, २०८२

आईफोन १९ को सेल्फी क्यामेरा डिस्प्ले मुनी लुकाउने एप्पलको योजना

आईफोन १९ को सेल्फी क्यामेरा डिस्प्ले मुनी लुकाउने एप्पलको योजना

काठमाडौँ । एप्पलले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा सन् २०२७ मा सार्वजनिक गर्ने आईफोनमा सेल्फी क्यामेरा पूर्ण रूपमा स्क्रिनमुनि लुकाउने तयारी गरेको छ । यो जानकारी एक चिनियाँ लिकरले बाहिर ल्याएका हुन् ।

चीनको सामाजिक सञ्जाल वेइबोमा ‘डिजिटल च्याट स्टेसन’ नामक अकाउन्टले एप्पलले अन्डर–स्क्रिन क्यामेरा प्रविधिको विकास निर्धारित तालिका अनुसार अगाडि बढाइरहेको जनाएको छ । यसले सन् २०२७ मा आउने फ्ल्यागशिप आईफोनमा कुनै पनि ‘कटआउट’ वा ‘नच’ नदेखिने सम्भावना पुष्टि गरेको छ ।

रिपोर्टका अनुसार, एप्पलले अन्डर–स्क्रिन फेस आईडी प्रविधि सुरु गरेपछि एक वर्षभित्र आईफोन १८ प्रो मोडेलहरूमा यो नयाँ प्रविधि ल्याउने तयारी गरिरहेको छ । कम्पनीले वार्षिकोत्सव संस्करणका लागि पूर्ण बेजल–रहित र चारै किनारमा घुमेको आधुनिक डिजाइनमा काम गरिरहेको बताइएको छ ।

साथै, एप्पलले सम्भवतः ‘आईफोन १९’ नाम प्रयोग नगरी नयाँ नामकरण प्रणाली अपनाउने अनुमान गरिएको छ । अघिल्ला वर्षमा पनि एप्पलले आईफोन ९ लाई छोडेर सिधै आईफोन एक्स बजारमा ल्याएको थियो ।

हालका अधिकांश एन्ड्रोइड फोनहरूमा अन्डर–डिस्प्ले क्यामेरा सुविधा उपलब्ध भए पनि तीमा तस्बिरको गुणस्तर कमजोर हुने गरेको छ । एप्पल भने यस्ता कमजोरी सुधार्न दीर्घकालीन परीक्षण गरिरहेको बताइएको छ ।

कम्पनीको कोरियाली आपूर्तिकर्ता एलजी इनोटेकले अहिले प्वालरहित अन्डर–डिस्प्ले क्यामेरा प्रविधि विकास गरिरहेको छ, जसले स्क्रिन पछाडिबाट पनि पर्याप्त प्रकाश प्रवेश गराएर तस्बिरको स्पष्टता सुधार्ने बताइएको छ ।

यसैबीच, जेपी मोर्गनको हालको रिपोर्ट अनुसार एप्पलले आफ्नो पहिलो फोल्डेबल डिभाइसमा २४–मेगापिक्सेल क्षमताको अन्डर–डिस्प्ले क्यामेरा प्रयोग गर्न सक्ने संकेत गरेको छ- जुन अहिलेका ४ वा ८ मेगापिक्सेल क्षमताका सामान्य क्यामेराभन्दा निकै उन्नत हुनेछ ।

तर यो प्रविधि फोल्डेबल आईफोनमै प्रयोग हुनेछ वा सामान्य आईफोन श्रृंखलामा पनि विस्तार हुनेछ भन्ने विषयमा भने एप्पलले कुनै औपचारिक पुष्टि गरेको छैन ।