यो वर्षको वर्षामा १४० जनाले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित
काठमाडौँ । यस वर्षको मनसुनी अवधिमा देशभर बाढी, पहिरो, चट्याङ र भारी वर्षाजस्ता विपद्का घटनाबाट १४० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ १५ देखि असोज १४ सम्मको अवधिमा मनसुनजन्य घटनाले ठूलो जनधनको क्षति पुर्याएको हो ।
प्राधिकरणको ‘मनसुन २०८२’ प्रतिवेदन अनुसार उक्त अवधिमा ३० जना बेपत्ता भएका छन् भने ५ हजार ९९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
पहिरो सबैभन्दा घातक
यो वर्षका मनसुनजन्य घटनामध्ये पहिरो सबैभन्दा घातक सावित भएको छ । देशभर ४९३ वटा पहिरोका घटनामा ६७ जनाको मृत्यु र ७७ जना घाइते भएका छन् । पहिरोमा ४ जना बेपत्ता छन्, जसबाट १ हजार ५१८ परिवार प्रभावित भएका छन् ।
त्यसैगरी, बाढीका २१२ घटनामा ३७ जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् । बाढीबाट ३ हजार २०० परिवार विस्थापित वा प्रभावित भएका छन् ।
चट्याङका २४२ घटनामा २९ जनाको मृत्यु भएको छ भने भारी वर्षाका ३७७ घटनाबाट ७ जनाको ज्यान गएको र २० जना घाइते भएका छन् ।
गत वर्षको तुलनामा क्षति घट्यो
प्राधिकरणका अनुसार यस वर्ष मनसुनले तुलनात्मक रूपमा कम क्षति पुर्याएको छ । मनसुन २०८१ मा देशभर २ हजार १३९ वटा विपद्का घटनाबाट ४५५ जनाको मृत्यु र ६६ जना बेपत्ता भएका थिए ।
तर २०८२ मा घटनाको संख्या घटेर १ हजार ४५४ मा सीमित भएको छ । मृत्यु हुने संख्या पनि घटेर १४० मा झरेको छ, जसले विपद् व्यवस्थापन र सचेतनामा सुधार भएको सङ्केत गर्छ ।
अन्य विपद्मा पनि १२० जनाको मृत्यु
मनसुनजन्य कारणबाहेक आगलागी, सर्पदंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनाले पनि ठूलो मानवीय क्षति पुर्याएका छन् ।
२०८२ मा यस्ता अन्य १ हजार ६७६ विपद्का घटनामा १२० जनाको मृत्यु र ६२२ जना घाइते भएका छन् । यी घटनाबाट २ हजार ३० परिवार प्रभावित भएका छन् ।
सर्पदंश सबैभन्दा धेरै घातक देखिएको छ — ४४२ घटनामा ७४ जनाको मृत्यु र ३७४ जना घाइते भएका छन् । त्यस्तै, जनावर आक्रमणबाट २२ जनाको, आगलागीबाट ११ जनाको र लेक लागेर १३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
