पियोर इनर्जीले तीन महिनामा कमायो ९० लाख रुपैयाँ
काठमाडौं । पियोर इनर्जीले आव २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।
२०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीको बाँकेमा १०–१० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालनमा छन् ।
कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । ‘यस कम्पनीले पीपीए अनुसार नेपाल विद्युत प्राधिकरणलाई निरन्तर कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ,’ पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, ‘यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत् बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ ।’
गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँबाट बढेर ४.५० पुगेको छ । प्रतिशेयर नेटवर्थ १०१.६१ रुपैयाँ पुगेको छ ।
