सोमबार २२ मंसिर, २०८२

४ अर्ब ८० करोडको मुग्लिन–मलेखु सडक स्तरोन्नति आयोजनाले लियो गति

४ अर्ब ८० करोडको मुग्लिन–मलेखु सडक स्तरोन्नति आयोजनाले लियो गति

चितवन । करिब चार अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माणाधीन मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम फेरि तीव्र गतिमा अघि बढ्न थालेको छ।

शर्मा–जेडआइसिजी जेभीले ठेक्का पाएको यो आयोजना विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको हो। असारयता वर्षा र चाडपर्वका कारण सुस्त बनेको काम अहिले पुनः सक्रिय भएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पर्ने यो पश्चिम खण्ड ३८.८६ किलोमिटर लामो छ। हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर विजय दरैका अनुसार आगामी केही दिनभित्र कालोपत्रको काम सुरु हुँदैछ।

हालसम्म ८ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप ५ किलोमिटर अन्तिम तयारीमा छ। आयोजनाअन्तर्गत चार वटा पुल, ड्रेनेज, बेरियर, र क्लाइम्बिङ लेन निर्माणको काम जारी छ।

यो सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १५ गते ठेक्का सम्झौता गरिएको हो। तर डिजाइन परिमार्जन र कच्चा पदार्थ आपूर्तिमा देखिएको चुनौतीका कारण निर्माण कम्पनीले म्याद थप प्रक्रिया अघि बढाएको छ।

मुग्लिन–मलेखु सडक स्तरोन्नति सम्पन्न भएपछि काठमाडौं प्रवेशद्वारका रूपमा रहेको पृथ्वी राजमार्गको यातायात क्षमतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। यसले इन्धन खपत घटाउने, यातायात खर्च घटाउने र क्षेत्रीय व्यापार प्रवाहमा समेत सकारात्मक प्रभाव पार्नेछ।