यूके–नेपाल साझेदारीले ब्रिटिस काउन्सिलको ‘गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड- २०२५’ जित्यो
यूके–नेपाल अन्तर्राष्ट्रिय सीप साझेदारी (UK–Nepal International Skills Partnership) ब्रिटिस काउन्सिलको ‘गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड २०२५’ का पाँच विजेतामध्ये एक भएको छ।
यो अवार्ड अक्टोबर २८ मा लन्डनमा आयोजित ‘गोइङ ग्लोबल २०२५’ सम्मेलनमा घोषणा गरिएको थियो। शिक्षासचिव श्री चूडामणि पौडेलले नेपाली साझेदारहरूको तर्फबाट अवार्ड ग्रहण गर्नुभयो।
यस साझेदारीमा युकेका चार संस्थाहरू र नेपालका सार्वजनिक तथा निजी क्षेत्रका निकायहरू—नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) लगायत—सामेल छन्।
ब्रिटिस काउन्सिलको सहयोगमा सञ्चालित यो साझेदारीले नेपालको “हरित सीप अभाव” (Green Skills Gap) पूरा गर्न सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउने प्रणालीगत दृष्टिकोण अवलम्बन गरिरहेको छ।
यसले विभिन्न सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूलाई एकसाथ ल्याउँदै नेपाल सरकारले “ग्रीन स्किल्स एडभाइजरी बोर्ड” (Green Skills Advisory Board – GSAB) स्थापना गर्न सहयोग गरेको छ।
यो प्लेटफर्म अहिले नेपालमा हरित सीप विकासमा केन्द्रित हुँदै शिक्षालाई अझ सान्दर्भिक, दिगो र रोजगारमुखी बनाउन योगदान दिइरहेको छ। उक्त बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, CTEVT, FNCCI, नेपाल उद्योग परिसंघ (CNI) र नेपाल ठेकेदार संघ (FCAN) का प्रतिनिधिहरू सहभागी छन्।
अवार्ड प्राप्त पाँच परियोजनाहरूले शिक्षामा प्रभावकारी योगदान पुर्याउँदै दिगो विकास लक्ष्य (SDGs) मध्ये एकमा दीर्घकालीन योगदान दिएको देखाएका छन्। अन्य विजेता साझेदारीहरू पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाबाट थिए।
पुरस्कार विजेता परियोजनाहरूका बारेमा थप जानकारीका लागि ब्रिटिस काउन्सिलको वेबसाइटमा हेर्न सकिन्छ: Going Global Partnerships Awards | British Council
पुरस्कार समारोहपछि शिक्षासचिव पौडेलले भन्नुभयो,-“यो अवार्डले यूके र नेपालको विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई मान्यता दिएको छ। आशा छ, यस साझेदारीले सहयोग गरिरहेको GSAB ले नेपालमा अत्यावश्यक हरित सीप विकासमा महत्वपूर्ण योगदान दिनेछ।”
यस अवसरमा ब्रिटिस काउन्सिल नेपालका देश निर्देशक रुस्तम मोडीले भन्नुभयो,-“यूके–नेपाल अन्तर्राष्ट्रिय सीप साझेदारीले यो विश्वव्यापी पुरस्कार पाउनु हाम्रो लागि गर्वको कुरा हो। यसले नेपालका सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यले हरित सीप एजेन्डामा कस्तो ठोस प्रभाव पार्न सक्छ भन्ने देखाएको छ। यो साझेदारीमार्फत हामी नेपाल सरकारको दिगो, समावेशी र भविष्यमुखी जनशक्ति विकासको दृष्टिकोणलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं।”
अवार्ड ब्रिटिस काउन्सिलकी उप–मुख्य कार्यकारी केट इवार्ट–बिग्स र ग्लोबल डायरेक्टर (शिक्षा) माडेलाइन एनसेल ले प्रदान गरेका थिए। उनीहरूले परियोजनाहरूको शिक्षामा पारेको प्रभाव र दिगो विकासमा योगदानको प्रशंसा गरे।
गोइङ ग्लोबल पार्टनरशिप्स कार्यक्रमका बारेमा
ब्रिटिस काउन्सिलद्वारा सञ्चालित Going Global Partnerships कार्यक्रमले विश्वविद्यालय, कलेज र अन्य उच्च तथा प्रविधिक शिक्षासम्बन्धी संस्थाहरूमाझ अन्तर्राष्ट्रिय सहकार्य र सन्तुलित साझेदारीहरू निर्माण गर्न सहयोग पुर्याउँछ।
कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षा रणनीति (International Education Strategy) र दिगो विकास लक्ष्यहरू (SDGs) को कार्यान्वयनमा योगदान पुर्याउँदै विश्वभरका शैक्षिक संस्थाहरूबीच समावेशी र समान अवसरयुक्त सहकार्य प्रवर्द्धन गर्छ।
कार्यक्रम सुरु भएदेखि अहिलेसम्म ब्रिटिस काउन्सिलले ६१ देशमा करिब १,००० साझेदारसँग मिलेर १५५ वटा युके उच्चशिक्षा संस्थासँग ९३२ साझेदारी परियोजनाहरूलाई सहयोग गरेको छ। यी परियोजनाहरू अनुसन्धान, अन्तर्राष्ट्रिय शिक्षा, क्षमता विकास र समावेशीकरणका क्षेत्रमा केन्द्रित छन्।
गोइङ ग्लोबल पार्टनरशिप्स अवार्डबारे
ब्रिटिस काउन्सिलको Going Global Partnerships कार्यक्रमको पाँचौं वर्षको उपलक्ष्यमा सुरु गरिएको यस अवार्डले प्रभावकारी, प्रेरणादायी र अद्वितीय परियोजनाहरूलाई सम्मान गर्छ।
यो अवार्डका लागि आवेदन १३ मेदेखि ८ जुनसम्म खुला गरिएको थियो। कुल १०५ आवेदन प्राप्त भएका मध्ये कठोर मूल्यांकन प्रक्रियापछि पाँच उत्कृष्ट परियोजनाहरू विजेता घोषित गरिएका हुन्।
