बुधबार २४ मंसिर, २०८२

जेनजी आन्दोलनको प्रभाव : निर्जीवन बीमा क्षेत्र ध्वस्त, केवल २ कम्पनीमात्रै नाफामा

जेनजी आन्दोलनको प्रभाव : निर्जीवन बीमा क्षेत्र ध्वस्त, केवल २ कम्पनीमात्रै नाफामा

काठमाडौँ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली निर्जीवन बीमा क्षेत्रमा ठूलो आर्थिक असर पारेको छ। १४ मध्ये १२ निर्जीवन बीमा कम्पनी पहिलो त्रैमासिक वित्तीय विवरणमा घाटामा पुगेका छन्।

सिर्जित घाटा कुल दुई अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। घाटामा परेका अधिकांश कम्पनीको घाटा दोहोरो अंकभन्दा माथि रहेको छ।

सञ्चालनमा रहेका दुई कम्पनी प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स मात्रै नाफामा रहेका छन्। प्रभु इन्स्योरेन्सले ६ करोड ३१ लाख र नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

घाटा भोग्न बाध्य भएका कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २९ करोड ८५ लाख, द ओरियण्टल इन्स्योरेन्स २८ करोड ४८ लाख, सगरमाथा–लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स २० करोड ७६ लाख रुपैयाँ घाटामा छन्।

त्यस्तै, शिखर इन्स्योरेन्स १५ करोड ८५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स १५ करोड ११ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स १० करोड ९३ लाख, एनएलजी इन्स्योरेन्स १० करोड १० लाख, नेपाल इन्स्योरेन्स ९ करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनी ९ करोड ९५ लाख र नेको इन्स्योरेन्स ८ करोड ३१ लाख रुपैयाँ घाटामा पुगेको छ।

विश्लेषकहरूले भनेका छन् कि बीमा कम्पनीहरूले प्रभावकारी पुनर्बीमा नगरेका कारण जेनजी आन्दोलनको प्रत्यक्ष असरले ठुलो दायित्व भोग्न परेको हो। साथै, नेपाल बीमा प्राधिकरणको नियमन प्रभावकारी नभएको कारण यस क्षेत्रले थप चुनौती भोगेको छ।