कर दिवसमा व्यवसायी : आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि कारबाही, लगानी वातावरणमा सुधार आवश्यक
काठमाडौं । कर दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीहरूले आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि कारबाही नगरे लगानीकर्ताको मनोबल कमजोर हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, “असल नियतका साथ जेन–जी आन्दोलन भए पनि त्यहाँ घुसपैठ भएको छ। गल्ती गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ।” उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध निजी क्षेत्रले गरेको पहललाई स्मरण गर्दै भने, “सरकारले निजी क्षेत्रको सम्पत्ति सुरक्षित गर्न नसक्ने हो भने मुलुकमा थप लगानी सम्भव छैन र लगानीकर्ता भड्किने स्थिति आउँछ।”
अध्यक्ष ढकालले फेसलेस प्रणाली मार्फत अनलाइन भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रसम्मको सुविधा ल्याएकोमा प्रशंसा गरे। उनले भने, “बैंकमा ११ खर्बभन्दा बढी रकम थुप्रिएको छ। अब लगानीको वातावरण तयार पार्न जरुरी छ।”
कार्यक्रममा व्यवसायी मिनबहादुर गुरुङले पनि सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले आफ्नो १२ वटा भाटभटेनी पूर्ण रूपमा नष्ट भएको र अन्य धेरैमा ठूलो क्षति पुगेको जानकारी दिए। तर उनले भने कि आफूले हिम्मत नहारेको र व्यवसायबाटै अघि बढ्ने अठोट राखेको छ।
गुरुङले दशैं, तिहार र छठका लागि स्टक गरिएका सामान आन्दोलनका क्रममा लुटिने र जलाउने काम भएको बताए। उनले आफ्नो व्यवसायमा बैंकको लगानीसँगै धेरै युवा आश्रित रहेकोले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए।
उनले राज्यलाई कर बुझाइसकेपछि सहयोग गर्ने वा नगर्ने विषय आफ्नो निर्णयमा पर्ने बताए। उनले बाल अस्पताल स्थापना, विपन्न विद्यार्थीको शिक्षामा सहयोग र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने कामको पनि स्मरण गराए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउनुपर्ने र प्रतिस्पर्धी बजार निर्माण आवश्यक भएको बताए। उनले विश्वका अन्य देशहरूले उपभोक्ताको क्रय शक्ति र उद्यमीको लगानी क्षमता बढाउन कर दर घटाइरहेको र नेपालले पनि यस्तो नीति अपनाउनुपर्ने जिकिर गरे।
अग्रवालले भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दर कायम गर्न आवश्यक रहेको बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भने, राजस्व बढाउन करको दरभन्दा दायरा विस्तार महत्वपूर्ण रहेको र लगानी विस्तार तथा औद्योगिक वातावरणको लागि नीतिगत स्थायित्व आवश्यक भएको बताए। उनले विदेशी लगानीकर्ताले पनि कर नीतिका आधारमा मात्र लगानी गर्ने हुँदा नीति स्पष्ट हुनु जरुरी रहेको औँल्याए।
पाण्डेले मुलुक अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै, केही समयअघिसम्म अर्थतन्त्र चुनौतीपूर्ण भए पनि जेन–जी आन्दोलनपछि राजनीतिक र सामाजिक क्षेत्र पनि चुनौतीपूर्ण बनेको बताए।
