पहिलो चौमासिकमा राजस्व संकलन लक्ष्यको ७७ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारले राखेको राजस्व संकलन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हासिल भएको छ। अर्थ मन्त्रालयका अनुसार, सरकारले यस अवधिमा ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो, तर वास्तविक संकलन ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ।
कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो, तर ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ। ३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको मन्त्रालयको तथ्यांकमा देखिएको छ।
भन्सार र आन्तरिक दुवै राजस्व विभागले लक्षित रकम पूरा गर्न सकेका छैनन्। भन्सार महसुलतर्फ कात्तिकसम्म लक्ष्यको ७६.९६ प्रतिशत मात्रै उठेको छ। यस अवधिमा भन्सार महसुलको लक्ष्य ९६ अर्ब ९२ करोड रुपैयाँ राखिएकोमा ७४ अर्ब ५९ करोड मात्र उठेको छ।
मूल्य अभिवृद्धि करमा ८५.५० प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कतर्फ ९१.७० प्रतिशत संकलन भएको छ। शिक्षा सेवा शुल्क र अन्य कर भने लक्ष्यभन्दा बढी, १२५.१० प्रतिशत उठेको छ। आयकरमा भने केवल ६५.५९ प्रतिशत मात्र संकलन भएको छ।
दुई मुख्य कर विभागमध्ये भन्सार विभागले लक्ष्यको ७९.४५ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ। कात्तिकसम्म भन्सार विभागले १ खर्ब ९४ अर्ब २७ करोड लक्ष्य राखेकोमा १ खर्ब ५४ अर्ब ३५ करोड मात्र उठाएको छ। आन्तरिक राजस्व विभागले १ खर्ब ९० अर्ब रुपैयाँको लक्ष्य राख्दा १ खर्ब ५२ अर्ब मात्रै संकलन गर्न सफल भएको छ।
विशेषज्ञहरूका अनुसार, भन्सार र आन्तरिक राजस्व दुवै विभागले लक्ष्य अनुसार संकलन गर्न नसक्दा आर्थिक व्यवस्थापनमा चुनौती थपिएको छ।
