कीर्तिपुरमा एनपीएल रौनक, दर्शकहरू उत्साहित
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्। खेल अपरान्ह ४ बजेबाट सुरु हुनेछ।
त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरु भइसकेको छ भने दर्शक दीर्घा भरिँदै छ। सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि मैदानमा खटाइएको छ।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमुनि खेल सञ्चालन हुँदैछ। यस संस्करणमा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ भने मैदानमा ६ वटा फ्लडलाइट जडान गरिएको छ।
गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो। यस पटक पनि जनकपुरले उपाधि दोहोर्याउने लक्ष्य राखेको छ। काठमान्डु गोर्खाज भने गत संस्करण पाँचौं स्थानमा रहेपछि आफ्नो टोलीको जर्सी, लोगो, प्रशिक्षक र अधिकांश विदेशी खेलाडी परिवर्तन गरी प्रतियोगितामा उत्रिएको छ।
