सोमबार २२ मंसिर, २०८२

सुदूरपश्चिममा पर्यटक आगमन घट्यो, होटेल अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र

सुदूरपश्चिममा पर्यटक आगमन घट्यो, होटेल अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१/८२ मा होटेलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । राष्ट्र बैंकले १० होटेल छनोट गरी अध्ययन गरेको थियो ।

यस प्रदेशमा बढी पाहुना भारतीय पर्यटक रहेको पाइएको छ । कुल १६ हजार ९२५ विदेशी पर्यटक सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका थिए ।

जसमा भारतीयसहित १६५ चिनियाँ र तेस्रो मुलुकका १ हजार ४११ पर्यटक यस प्रदेशको भ्रमणमा पुगेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा यो आवमा पर्यटक आगमनमा भारी गिरावट आएको देखिएको छ ।

तथ्यांक अनुसार, भारतीय पर्यटक २८ प्रतिशत, चीनबाट आउनेहरू ७१ प्रतिशत र तेस्रो मुलुकका पर्यटकको संख्या ६५ प्रतिशतले घटेको छ ।

धार्मिक, पुरातात्विक, पर्यटकीय पूर्वाधारको विकास र प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन गर्न यो प्रदेश चुकिरहेको राष्ट्र बैंकको निष्कर्ष छ।