करदाता र कर अधिकृत कोही पनि बेइमान हुन नपर्ने प्रणाली विकास गर्दैछौं : अर्थमन्त्री
काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भन्नुभयो, “सबैभन्दा बढी कर तिरेर राष्ट्र निर्माणमा योगदान गर्ने उद्यमी–व्यवसायीहरूबिच आर्थिक क्रियाकलाप र सामाजिक स्थायित्वको गहिरो सम्बन्ध छ। नागरिकले सरकारले सामाजिक सुरक्षा, विकास र आर्थिक अवसरमार्फत हेरिरहेको महसुस गरेपछि मात्र राज्यप्रति विद्रोह हुँदैन।”
उहाँले निजी क्षेत्रले आन्दोलनपछिको सुरक्षाको माग गरे पनि सुशासन नै सर्वोत्तम सुरक्षा भएको औँल्याउनुभयो। “भौतिक सुरक्षा आवश्यक भएपनि त्यो मात्र पर्याप्त छैन। भ्रष्टाचार, दण्डहीनता र बेथितिजस्ता प्रणालीगत समस्या रहिरहँदा समाजमा असन्तुष्टि कायम रहन्छ,” खनालले भने।
सरकारले आन्तरिक राजस्व विभाग, भन्सार प्रणाली, सम्पत्ति शुद्धीकरण विभागमा सुधार गर्दै करदाता र कर अधिकृत दुवै इमानदार हुने प्रणाली निर्माण गरिरहेको छ । यसले इमानदार करदातालाई अनावश्यक झन्झटबाट बचाउने र कर छली गर्नेहरूलाई निगरानी गर्नेछ। ७५३ स्थानीय तहमा करदाता सेवा विस्तारले व्यवसाय गर्न लाग्ने समय र लागत घटाउनेछ।
अर्थमन्त्री खनालले भने, “हाम्रो लक्ष्य करको दर बढाउनु होइन, कर आधार फराकिलो बनाउँदै आर्थिक क्रियाकलाप विस्तार गर्नु हो। जब देशको अर्थतन्त्रको आकार बढ्छ, राजस्व स्वतः दोब्बर हुन्छ।”
साथै, निजी सम्पत्तिलाई राष्ट्रिय सम्पत्तिको रूपमा हेरिनु पर्ने, त्यसले रोजगारी र करमार्फत राष्ट्रको हितमा योगदान गर्ने, र विदेशी लगानी आकर्षित गर्न दोहोरो कर मुक्ति सम्झौता तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध सुधारमा सरकार सक्रिय रहेको उहाँले जानकारी दिनुभयो।
