बुधबार २४ मंसिर, २०८२

वायुसेवा निगमका सञ्चालक श्रेष्ठलाई कामु महाप्रबन्धकको जिम्मेवारी

वायुसेवा निगमका सञ्चालक श्रेष्ठलाई कामु महाप्रबन्धकको जिम्मेवारी

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकमा नियुक्त गरेको छ । प्रशासनिक पृष्ठभूमिका निममकै पूर्वकर्मचारी श्रेष्ठ  नेपाल वायुसेवा निगमको कामु उपनिर्देशकबाट अवकाश पाएका थिए ।

‘हामीले पनि उहाँको नियुक्तिका कुरा सुन्यौ, तर आधिकारिक पत्राचार भइसकेको छैन’ नेपाल वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले भने, ‘बाँकी कुरा औपचारिक पत्राचारपछि थाहा होला ।’

पर्यटन मन्त्रालय स्रोतका अनुसार, मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण भएपछि थप प्रक्रिया अघि बढ्नेछ । त्यसपछि पत्राचार गरेर उनलाई बुधबार नै नियुक्ति दिने तयारी छ ।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको अवकाशपछि सरकारले निगमका उप कार्यकारी निर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको थियो ।

आफूसँग आर्थिक अधिकार नभएको तर अपेक्षामात्रै गरिएको भन्दै उनले सञ्चालक समितिको बैठकमा ‘काम गर्न नसक्ने’ घोषणा गरेर पर्यटन मन्त्रालयमा त्यसको जानकारी गराएका थिए ।

त्यसलगत्तै सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट सञ्चालक समिति सदस्य श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकमा नियुक्त गरेको हो । उनी निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत थिए ।

निगममा आठौ तहका कर्मचारी रहेका उनी अवकाश हुनुअघि कामू उपनिर्देशकको जिम्मेवारी सहित नवौं तहमा थिए । त्यो भनेको नेपाल सरकारको उपसचिव सरहको पद हो ।

अवकाशपछि नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्त भएका उनलाई सरकारले कार्यवाहक महाप्रवन्धकमा नियुक्त गरेको हो । कार्यवाहक जिम्मेवारी पाएको व्यक्तिले महाप्रबन्धकका सबै अधिकार प्रयोग गर्न पाउँछ । प्रेमबहादुर आले पर्यटनमन्त्री भएका बेला उनी नेपाल वायुसेवा आयोगको सदस्यमा नियुक्त भएका थिए ।

‘उहाँको विगत हेर्दा उड्डयन र विमान सेवा व्यवस्थापनको आधारभूत अनुभव भेटिदैन’ नेपाल वायुसेवा निगम सम्वद्ध स्रोतले भन्यो, ‘प्रशासनको उपसचिव स्तरको कामबाट अवकाश भएका व्यक्तिले कसरी अहिलेको संकटयुक्त अवस्थामा नेपाल वायुसेवा निगम हाक्नुहुन्छ ? आश्चर्यलाग्दो विषय छ ।’

श्रेष्ठ करिव २४ वर्ष नेपाल वायुसेवा निगममा काम गरेर पाँच वर्षअघि अवकाश पाएका थिए । अवकाशको एक/डेढ वर्षमै उनी नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए ।

सरकारले निगमको महाप्रबन्धक नियुक्तका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा सिफारिस समिति गठन गरिसकेको छ ।