सोमबार २२ मंसिर, २०८२

नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ यथावत्

नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ यथावत्

काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट दोस्रो पटक सार्वभौम क्रेडिट रेटिङ बीबी माइनस कायम राख्न सफल भएको छ।

गत वर्ष जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमता र समष्टिगत आर्थिक स्थायित्व बलियो रहेको अन्तर्राष्ट्रिय रूपमा पुष्टि भएको छ।

चुनाव-केन्द्रित खर्च, सामाजिक राजनीतिक चुनौती र वर्षाजन्य विपत्तिका बाबजुद सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापन सुधार, खर्च प्राथमिकता र रणनीतिक परियोजनाको निरन्तरता अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रति विश्वास बलियो बनाएको छ।

यो रेटिङले वैदेशिक लगानी आकर्षण, विकास साझेदारहरूसँग सहकार्य विस्तार र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा सार्वभौम ऋण जारी गर्दा स्थिर क्रेडिट प्रोफाइल कायम राख्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। विशेष गरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानीका लागि रेटिङ स्थायित्व महत्त्वपूर्ण सूचक मानिएको छ।

नेपाल सरकारले आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी र रोजगारी सिर्जनामा निरन्तर प्रतिबद्धता जनाएको छ।