सोमबार २२ मंसिर, २०८२

एनपीएलमा म्याच फिक्सिङको प्रयास विफल, १ करोडको ‘रनआउट डिल’ प्रस्ताव गर्ने दुई पक्राउ

एनपीएलमा म्याच फिक्सिङको प्रयास विफल, १ करोडको ‘रनआउट डिल’ प्रस्ताव गर्ने दुई पक्राउ

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा म्याच फिक्सिङ गर्ने ठूलो प्रयास प्रहरीले विफल पारेको छ।

खेलाडीलाई खेलका दौरान ‘रनआउट’ हुन १ करोड रुपैयाँ प्रस्ताव गरिएको उजुरी प्राप्त भएपछि टेकुस्थित अपराध अनुसन्धान कार्यालय (सीआईबी) ले निगरानी बढाउँदै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक दिलप्रित सिंह र रेविका सिंह ठकुरी रहेका छन्। प्रहरीले उनीहरूलाई काठमाडौंको लाजिम्पाट क्षेत्रबाट नियन्त्रणमा लिएको जनाइएको छ।

प्रहरीका अनुसार रेविकाले इन्स्टाग्राममार्फत एनपीएलका ६–७ खेलाडीलाई सम्पर्क गर्ने प्रयास गरेकी थिइन्। तीमध्ये एक खेलाडीसँग प्रत्यक्ष भेट भएपछि उनले खेलका दौरान जानाजान रनआउट भएर आउट हुने सर्तमा १ करोड रुपैयाँ दिने प्रस्ताव खुलाएकी थिइन्। प्रस्ताव अस्वीकार गरी खेलाडीले तत्कालै आफ्नो टिम व्यवस्थापनलाई जानकारी दिएपछि मुद्दा प्रहरीसम्म पुगेको हो।

सूचनाका आधारमा प्रहरीले दुवैलाई लगातार निगरानीमा राखेको थियो। आवश्यक प्रमाण पुष्टि भएपछि उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। अनुसन्धानमा प्रारम्भिक रूपमा म्याच फिक्सिङको प्रयासमा सीधा संलग्नता भेटिएको प्रहरीले बताएको छ।

सीआईबीका प्रहरी अधिकारीका अनुसार, “फिक्सिङको प्रस्ताव स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो। आर्थिक प्रलोभन देखाएर खेलको सत्यनिष्ठा तोड्न खोजिएको पुष्टि भएको छ।”

नेपालमा यति ठूलो रकमसहित खेल बिगार्ने प्रयास सार्वजनिक रूपमा आएको घटना दुर्लभ मानिन्छ। एनपीएल आयोजक समितिले पक्राउप्रति आभार व्यक्त गर्दै खेलको ‘इंटीग्रिटी’ संरक्षणमा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट गरेको छ।

प्रहरीले थप संलग्न व्यक्तिहरूको खोजी तथा संजालको पृष्ठभूमि बुझ्न अनुसन्धान विस्तार गरेको जनाएको छ।